काठमाडौं- प्रतिनिधिसभा बैठकमा अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको पीडा महसुस गर्न नसकेको आरोप लगाएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले जनताले देशमा सुरक्षा, न्याय र सेवा–सुविधा नपाएको तथा ग्यासका लागि घण्टौँ घाममा उभिनुपर्ने बाध्यता रहेको भन्दै सरकार जनताको दुःखप्रति संवेदनशील बन्न नसकेको बताएका छन्।
ठूलो आशाका साथ जनताबाट मत पाए पनि सरकारले परिवर्तन ल्याउन नसकेको र मन्त्रीहरूबीच नै समन्वय तथा विश्वासको कमी देखिएको उनको भनाई छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरू विदेशिन बाध्य भएको भन्दै वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न र दोषीलाई कारबाही गर्न सरकार असफल भएको उनले आरोप लगाएका छन्।
अध्यक्ष साम्पाङले विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिँदै आए पनि प्रधानमन्त्री नआउनु बालहठ र पदको गैरजिम्मेवारी भएको टिप्पणी गरेका छन्।



























































