काठमाडौं- स्वच्छ ऊर्जा क्षेत्रमा तीव्र प्रगति गरिरहेको भारतले हरित हाइड्रोजनलाई न्यून कार्बन अर्थतन्त्रतर्फको ऊर्जा रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै विश्वव्यापी नेतृत्वलाई थप बलियो बनाउँदै लगेको छ।
सन् २०२५ को डिसेम्बरसम्म भारतको कुल विद्युत् उत्पादन क्षमतामध्ये ५१.९३ प्रतिशत हिस्सा गैर–जीवाश्म इन्धनमा आधारित ऊर्जा स्रोतबाट पुगेको छ। यससँगै भारतले आफ्नो राष्ट्रिय जलवायु प्रतिबद्धताअन्तर्गत तय गरेको ५० प्रतिशतको लक्ष्यसमेत पार गरेको छ।
भारतको हरित हाइड्रोजन रणनीति विशेषगरी प्रत्यक्ष विद्युतीकरण गर्न कठिन हुने इस्पात, मल उत्पादन, पेट्रोलियम प्रशोधन तथा लामो दूरीको यातायात जस्ता क्षेत्रमा केन्द्रित छ। हरित हाइड्रोजनले जीवाश्म इन्धनमा आधारित कच्चा पदार्थको विकल्पका रूपमा प्रयोग हुँदै औद्योगिक क्षेत्रमा कार्बन उत्सर्जन घटाउन सहयोग पुर्याउन सक्छ।
भारतको राष्ट्रिय हरित हाइड्रोजन अभियानअन्तर्गत सन् २०३० सम्म वार्षिक ५० लाख मेट्रिक टन हरित हाइड्रोजन उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको छ। हालसम्म १८ वटा कम्पनीलाई वार्षिक ८ लाख ६२ हजार टन उत्पादन क्षमताका लागि स्वीकृति दिइसकिएको छ भने १५ वटा कम्पनीलाई वार्षिक ३ हजार मेगावाट क्षमताका विद्युत्–रासायनिक उपकरण उत्पादनका लागि छनोट गरिएको छ।
भारतले गुजरातको देन्दयाल बन्दरगाह, तमिलनाडुको भी.ओ. चिदम्बरनार बन्दरगाह र ओडिशाको पारादीप बन्दरगाहलाई प्रमुख हरित हाइड्रोजन केन्द्रका रूपमा पहिचान गरेको छ। यसैगरी, इस्पात उत्पादनलगायत औद्योगिक क्षेत्रमा हरित हाइड्रोजनको प्रयोग परीक्षण गर्न विभिन्न नमुना परियोजनासमेत अघि बढाइएका छन्।
हरित हाइड्रोजनको क्षेत्रमा भारतले अन्तर्राष्ट्रिय सहकार्यलाई समेत विस्तार गरिरहेको छ। युरोपेली संघ, बेलायत, जर्मनी र जापानसँग हाइड्रोजनसम्बन्धी मापदण्ड, बजार प्रणाली, निर्यात तथा दीर्घकालीन खरिद सम्झौताका विषयमा सहकार्य भइरहेको छ।
ऊर्जा तथा स्रोत संस्थानका अनुसन्धानकर्ता इशिता श्रीवास्तव र पूर्व भारतीय कूटनीतिज्ञ राजदूत मञ्जीव सिंह पुरीका अनुसार भारतको सक्रिय हरित हाइड्रोजन अभियानले घरेलु कार्बन उत्सर्जन घटाउनुका साथै भविष्यको विश्वव्यापी स्वच्छ ऊर्जा बजार, आपूर्ति शृंखला र न्यून–कार्बन व्यापारमा भारतको भूमिका अझ बलियो बनाउन सक्छ।
भारतले सौर्य ऊर्जामा देखाएको नेतृत्वलाई निरन्तरता दिँदै हरित हाइड्रोजनमा समेत अग्रसरता लिन सके यसले दक्षिणी विश्वका अन्य मुलुकहरूमा स्वच्छ ऊर्जा रूपान्तरणका लागि सकारात्मक प्रभाव र उदाहरण प्रस्तुत गर्न सक्ने अपेक्षा गरिएको छ।



























































