काठमाडौं- नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘मेड–इन–नेपाल’ ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ।
नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन तथा सुरक्षाका विशेषतासहित सार्वजनिक गरिएको नयाँ भेन्युले कम्प्याक्ट एसयूभी बजारमा थप प्रतिस्पर्धा बढाउने कम्पनीले जनाएको छ।
‘मेड–इन–नेपाल’ भेन्यु आकर्षक तथा सशक्त एसयूभी डिजाइनमा उपलब्ध छ। यसमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प, पावर टिल्ट एन्ड स्लाइड सनरुफ, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्याग जस्ता सुविधा रहेका छन्।
नयाँ भेन्युमा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार यी इन्जिनले सहज ड्राइभिङ, इन्धन दक्षता तथा उत्कृष्ट प्रदर्शन प्रदान गर्छन्।
त्यस्तै, भेन्यु एन लाइन ले भेन्युको नियमित संस्करणभन्दा थप स्पोर्टी र आकर्षक स्वरूप प्रस्तुत गर्छ। यसमा एन–ब्रान्डेड सिट, एन–ब्रान्डेड अलोय ह्विल, सिग्नेचर रातो हाइलाइटसहितको बडी–कलर क्ल्याडिङ तथा विशेष एन लाइन स्टाइलिङ एलिमेन्ट समावेश छन्।
स्पोर्टी डिजाइनका बाबजुद भेन्यु एन लाइनमा भेन्युका प्रविधि, आराम तथा व्यावहारिकतालाई कायम राखिएको कम्पनीले जनाएको छ।
‘मेड–इन–नेपाल’ ह्युन्डाई भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध छ।
त्यस्तै, भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको छ।
मेड–इन–नेपाल ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन नेपालभर रहेका ह्युन्डाईका आधिकारिक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्राहकले नजिकैको ह्युन्डाई शोरुममा पुगेर नयाँ गाडीका डिजाइन, प्रविधि तथा ड्राइभिङ अनुभवबारे जानकारी लिन सक्नेछन्।



























































