काठमाडौं- लामो समयदेखि प्रतीक्षित टाटा मोटर्सको नयाँ पन्च ईभी नेपालभर एकैपटक सार्वजनिक भएको छ।
काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा लन्च भएसँगै टाटाका देशभरका आधिकारिक शोरुमबाट पनि गाडी सार्वजनिक गरिएको हो।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार पन्च ईभी काठमाडौंसहित बिर्तामोड, विराटनगर, इटहरी, पोखरा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज र धनगढीका आधिकारिक शोरुमबाट सार्वजनिक गरिएको छ।
कम्पनीले पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ। तर, नाइमा मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै गाडी खरिद गर्न सक्नेछन्।
सिप्रदीको प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिले पन्च ईभीप्रति ग्राहकको उत्साह बुकिङमै देखिएको बताएका छन्। उनले बुकिङ भएका गाडीहरू केही दिनभित्रै ग्राहकलाई डेलिभरी गर्ने जानकारी दिएका छन्।
एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख किलोमिटरको विशेष वारेन्टी उपलब्ध गराउने जनाएको छ। पन्च ईभीको प्रारम्भिक प्रतिक्रिया र बुकिङबाट कम्पनी उत्साहित रहेको सिप्रदीले जनाएको छ।



























































