काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ। मंगलबारदेखि सुरु भएको एक्स्पोमा दुई दिनमै ५५ हजारभन्दा बढीले अवलोकन गरेका छन्।


ADVERTISEMENT


एक्स्पोको दोस्रो दिन मात्रै २६ हजारभन्दा बढी अवलोकनकर्ता मेलास्थल पुगेका थिए। उद्घाटनको दिन मंगलबार २९ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए भने आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको छ।


ADVERTISEMENT

# # #


एक्स्पोमा अवलोकनकर्ताले विभिन्न ब्रान्डका कार, मोटरसाइकल तथा विद्युतीय सवारीसाधनमा विशेष चासो देखाएका छन्। विशेषगरी ब्याट्री क्षमता, मोटर, ड्राइभिङ रेन्ज र आफ्टर–सेल्स सर्भिसबारे ग्राहकले जानकारी लिइरहेका छन्। कतिपय अवलोकनकर्ताले मन परेका सवारीसाधन तत्कालै बुकिङसमेत गरिरहेका छन्।

ग्राहक आकर्षित गर्न सहभागी कम्पनीहरूले मूल्यमा छुट, निःशुल्क बीमा, सवारी कर, फ्रि सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन्।

एक्स्पोको दोस्रो दिन विभिन्न ब्रान्डका थप चार नयाँ मोडल सार्वजनिक गरिएका छन्। पहिलो दिन भने ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक भएका थिए।

एक्स्पोअन्तर्गत आयोजित ‘नाइमा मोबिलिटी संवाद’मा मोबिलिटी : हिजो, आज र भोलि विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। संवादमा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्ले, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार अनुकूल निधि तथा नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापाले यातायात क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे धारणा राखेका छन्।

संवादमा ३०० भन्दा बढीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न विषयमा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने जनाइएको छ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा विद्युतीय कार, ई–स्कुटर, विद्युतीय व्यावसायिक सवारीसाधन तथा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्ड र नयाँ मोडल मुख्य आकर्षण बनेका छन्।

सवारी खरिदकर्तालाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले समेत एक्स्पोमा विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्।