काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब छ महिनापछि बिहीबार स्वदेश फर्किँदैछन्। देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
उपचारका क्रममा लामो समय विदेशमा रहेका देउवा स्वदेश फर्किएपछि कांग्रेसको संस्थापन इतर समूहले विमानस्थलमै भव्य स्वागत गर्ने तयारी गरेको छ। इतर समूहले बाजागाजा तथा सांस्कृतिक झाँकीसहित देउवाको स्वागत गर्ने तयारी गरेको हो।
देउवाको स्वागतका लागि कांग्रेसका नेता–कार्यकर्ता विमानस्थल पुग्ने भएका छन्। स्वागत कार्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक तयारीसमेत अघि बढाइएको बताइएको छ।
स्वदेश फर्किएपछि देउवा शुक्रबारदेखि सुकेधारामा आयोजना हुने संस्थापन इतर समूहको तीनदिने राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ। भेलामा देशभरबाट करिब ५ हजार नेता तथा कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ।
तीनदिने भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण, पार्टीभित्रको आन्तरिक एकता तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
लामो समय उपचारका क्रममा सक्रिय राजनीतिबाट केही टाढा रहेका देउवाको स्वदेश आगमनलाई कांग्रेसभित्र राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ। उनको आगमनसँगै पार्टीभित्रको गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।



























































