काठमाडौं – अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, बीमा दाबीको सहज फर्छ्योट र ग्राहकलाई सरल रूपमा कर्जा उपलब्ध गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।


ADVERTISEMENT


‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ‘नाइमा मोबिलिटी संवाद’मा सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले कर्जा विस्तारसँगै जोखिम व्यवस्थापनका लागि लोन टू भ्यालु (एलटीभी) रेसियो महत्वपूर्ण रहेको बताए । उनका अनुसार हायर पर्चेज कर्जामा सुरुमा ५० प्रतिशत एलटीभीको व्यवस्था रहे पनि अहिले विद्युतीय सवारीसाधन (ईभी) मा ८० प्रतिशत र आन्तरिक दहन इन्जिन (आईसीई) भएका गाडीमा ६० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ ।

ब्याजदर बढ्दा ऋणीलाई समेत समस्या पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि एलटीभी रेसियो आवश्यक रहेको सुवेदीले बताए । कर्जा भुक्तानीमा समस्या बढेमा आयातकर्ता, ऋणी र ऋणदाता सबै प्रभावित हुने उनको भनाइ छ ।

उनका अनुसार हाल कुल ६० खर्ब रुपैयाँ कर्जामध्ये हायर पर्चेज कर्जाको हिस्सा १ खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ । यस्तो कर्जा गत वर्षको तुलनामा करिब १० प्रतिशतले बढेको उनले जानकारी दिए । खराब कर्जा कम रहेकाले सानो मार्जिनमा समेत बैंकहरू हायर पर्चेज कर्जा दिन तयार रहेको र अटो कर्जामा तत्काल क्रेडिट बबलको जोखिम नदेखिएको उनले बताए ।

सुवेदीले अटो कर्जा र हायर पर्चेज कर्जालाई एउटै रूपमा बुझ्न नहुने पनि स्पष्ट पारे । हायर पर्चेजअन्तर्गत सवारीसाधनसँगै मोबाइल तथा घरायसी सामग्रीमा समेत कर्जा प्रवाह हुने भएकाले यसको दायरा फराकिलो रहेको उनले बताए ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबीमा समस्या हुने भाष्य बने पनि आवश्यक प्रमाण र प्रक्रिया पूरा गरे दाबी फर्छ्योट सहज हुने बताए ।

क्षतिको सही विवरण र त्यसलाई प्रमाणित गर्ने आवश्यक कागजात उपलब्ध गराएमा बीमा दाबी पारदर्शी रूपमा फर्छ्योट गर्न सकिने उनको भनाइ छ । बीमा प्राधिकरणले छिटो भुक्तानीका लागि निर्देशन दिइरहेको भन्दै दाबीको अवस्था ड्यासबोर्डमार्फत देखिने व्यवस्था आवश्यक रहेको उनले बताए ।

ईभीको बीमामा ब्याट्रीको ह्रासकट्टीसम्बन्धी व्यवस्थाबारे पनि उनले जानकारी दिँदै ब्याट्रीमा ५० प्रतिशतसम्म मात्रै डिप्रिसिएसन काटिने बताए ।

हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बैंकसम्म पुग्न नसक्ने ग्राहकलाई लक्षित गरी हायर पर्चेज कम्पनीहरूले साना कर्जा प्रवाह गरिरहेको बताए । उनका अनुसार हायर पर्चेज कम्पनीहरूले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् ।

पछिल्लो कर्जा प्रवाहमध्ये करिब ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइलमा रहेको ठाकुरले बताए । बैंकिङ प्रक्रियामा केही कारणले कर्जा लिन नसकेका ग्राहकलाई समेत हायर पर्चेज कम्पनीहरूले केही घण्टामै कर्जा उपलब्ध गराउने गरेको उनले उल्लेख गरे ।

ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले हायर पर्चेज कर्जा लिने ग्राहकमा युवाको संख्या बढ्दै गएको बताए । उनका अनुसार अहिले करिब ६० प्रतिशत ऋणी ४० वर्षभन्दा कम उमेरका छन् । महिलाको सहभागिता पनि उल्लेख्य रहेको उनले बताए ।

काठमाडौं केन्द्रित अटो कर्जा विस्तार पछिल्लो समय बाहिरी सहरमा समेत फैलिँदै गएको अर्यालको भनाइ छ । स्थिर आम्दानी भएका ग्राहकसँगै विद्यार्थीसमेत सवारीसाधन खरिदका लागि कर्जा लिन थालेको उनले बताए ।

उनले हायर पर्चेज कम्पनीमार्फत बैंकको जोखिमसमेत व्यवस्थापनमा सहयोग पुग्ने बताए । आवश्यक सबै कागजात पूरा भएको अवस्थामा बैंकहरूले छिटो कर्जा प्रवाह गर्न सक्ने उनको भनाइ छ ।