काठमाडौं- नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी बैंकहरुले सवारीसाधन खरिदका लागि विशेष अटो लोन योजना ल्याएका छन्। एक्स्पो आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमासँग साझेदारी गरेका ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंकले मेलास्थलबाटै कर्जा सम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराइरहेका छन्।
नाइमा एक्स्पोको को–स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनर सिद्धार्थ र एनएमबी बैंकले ग्राहकलाई लक्षित गर्दै आकर्षक ब्याजदर र सुविधासहित अटो लोनको व्यवस्था गरेका हुन्। आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि अवलोकनकर्ताले बैंकका स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने तथा क्यूआरमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
बैंकहरुले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म प्रिमियममा कर्जा सुविधा उपलब्ध गराइरहेका छन्। सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लिइरहेको बैंकहरुले बताएका छन्। एक्स्पोको तेस्रो दिनसम्म आइपुग्दा अवलोकनकर्ताको संख्या बढेसँगै बैंकका स्टलमा अटो लोनबारे जानकारी लिने ग्राहकको भीडसमेत बढेको छ।
ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मन्जिल बिष्टका अनुसार सवारीसाधन छनोट गरेपछि बैंकको स्टलमा आएर कर्जाका लागि नाम टिपाउने र क्यूआर स्क्यानमार्फत आवेदन दिने ग्राहकको संख्या उल्लेख्य छ। सवारी विक्रेता कम्पनीहरुले ल्याएका आकर्षक अफरलाई बैंकको कर्जा सुविधाले थप सहयोग गरिरहेको उनले बताए।
सिद्धार्थ बैंकले पनि एक्स्पोमा संकलन भएका सम्भावित ग्राहकको विवरण केन्द्रीय कार्यालयमा पठाउने र त्यसपछि सम्बन्धित शाखामार्फत कर्जा प्रक्रियामा सहजीकरण गरिरहेको जनाएको छ। बैंकका लाजिम्पाट शाखा प्रबन्धक विष्णुप्रसाद शर्माका अनुसार कतिपय ग्राहकलाई मेलास्थलबाटै सम्बन्धित शाखासँग जोड्ने गरिएको छ।
यस्तै, एनएमबी बैंकले पनि एक्स्पोलाई लक्षित गर्दै ब्याजदर परिमार्जन गरी ग्राहकलाई आकर्षक दरमा अटो लोन उपलब्ध गराउन सहजीकरण गरिरहेको जनाएको छ। बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तका अनुसार ग्राहकको प्रतिक्रिया सकारात्मक रहेको छ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता तथा आयातकर्ताको सहभागिता रहेको छ।
एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्।



























































