काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवा अब एन्ड्रोइड स्मार्ट टीभी प्रयोगकर्ताले सेट–टप बक्सबिनै प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ।
कम्पनीले असोज १५ गतेदेखि एन्ड्रोइड टीभीका लागि भर्चुअल सेट–टप बक्स सेवा सञ्चालनमा ल्याएको हो। यससँगै ग्राहकले भौतिक सेट–टप बक्स जडान नगरी स्मार्ट टीभीबाटै एनटीटीभी सेवा प्रयोग गर्न सक्नेछन्।
यसका लागि ग्राहकले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टीभीको गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटीभी’ खोजी एप इन्स्टल गर्नुपर्नेछ। एपमार्फत भर्चुअल सेट–टप बक्स प्रयोग गरी एनटीटीभी सेवा सञ्चालन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।
कम्पनीका अनुसार हाल भर्चुअल सेट–टप बक्स एन्ड्रोइड टीभीका लागि उपलब्ध गराइएको हो। निकट भविष्यमा अन्य सबै प्रकारका स्मार्ट टीभीमा समेत प्रयोग गर्न सकिने गरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ। नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज छनोट गरेमा एक हजार रुपैयाँ छुट समेत पाउने व्यवस्था गरिएको छ।
नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै फाइबरबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले भर्चुअल सेट–टप बक्ससहित एनटीटीभी प्रयोग गर्न विभिन्न प्याकेजसमेत उपलब्ध गराएको जनाएको छ।
वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डेटा सुविधासमेत समावेश गरिएको कम्पनीले जनाएको छ। एनटीटीभीका प्याकेज तथा सेवासम्बन्धी थप जानकारी नेपाल टेलिकमको वेबसाइट र ‘नेपाल टेलिकम’ एपमार्फत लिन सकिनेछ।
















