काठमाडौं- सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै खगराज भट्टले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुख मियाँसमक्ष शपथ लिएसँगै भट्टले औपचारिक रूपमा प्रदेश सरकारको नेतृत्व सम्हालेका छन् ।
नेकपाका प्रदेशसभा संसदीय दलका नेता भट्ट एमाले–नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । शाहको राजीनामापछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।
नयाँ सत्ता समीकरण बनेसँगै सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भएको हो।



























































