काठमाडौं- नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग बढ्दै गएसँगै दक्ष प्राविधिक जनशक्तिको आवश्यकता पनि बढिरहेको छ। यही क्रममा नेपाल अटो मेकानिक्स महासंघका ३० जना प्राविधिकले चीनको चोङछिङस्थित शिनेराय मोटर्स (एसआरएम) को उत्पादन कारखानाको भ्रमण गरेका छन्।
भ्रमणका क्रममा प्राविधिकहरूले ईभी उत्पादन, एसेम्ब्ली, गुणस्तर परीक्षण, सुरक्षा प्रणाली तथा विद्युतीय सवारीसम्बन्धी प्रविधिको प्रत्यक्ष अवलोकन गरेका छन्। अगस्ट ११ र १२ मा भएको भ्रमणका क्रममा उनीहरूले एसआरएमका प्राविधिक विज्ञसँग अन्तरक्रिया गर्दै ईभी प्रविधि, उत्पादन प्रक्रिया तथा सर्भिसिङका विषयमा अनुभव आदानप्रदान गरेका थिए।
भ्रमण भिजी मोटर्स, नेपालमा एसआरएम तथा जोयलङ इलेक्ट्रिक सवारीको आधिकारिक वितरक, र शिनेराय मोटर्सको सहकार्य तथा प्रायोजनमा आयोजना गरिएको हो।
यसअघि भिजी मोटर्सले नेपाल अटो मेकानिक्स महासंघका सदस्यलाई ईभीको डायग्नोसिस, सर्भिसिङ तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम दिँदै आएको थियो। कारखाना भ्रमणले भने प्राविधिकलाई वर्कसपमा आधारित अभ्यासभन्दा बाहिर पुगेर ईभी निर्माण र इन्जिनियरिङ प्रक्रियाको प्रत्यक्ष ज्ञान हासिल गर्ने अवसर दिएको कम्पनीले जनाएको छ।
भिजी मोटर्सका अनुसार ईभीसम्बन्धी प्राविधिक तालिमको पहिलो चरण पूरा भइसकेको छ भने दोस्रो चरणको तयारी भइरहेको छ। दोस्रो चरणमा ईभी सर्भिसिङ तथा मर्मतसम्भारमा आवश्यक उपकरणको पहिचान र प्रयोगसँगै थप व्यावहारिक विषयमा प्रशिक्षण दिइनेछ।
भिजी मोटर्सका कमर्सियल हेड सजल श्रेष्ठले नयाँ प्रविधि भित्र्याउनु मात्र पर्याप्त नभई त्यसलाई सञ्चालन र मर्मत गर्न सक्ने दक्ष जनशक्ति निर्माण गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए।
उनका अनुसार ईभीको भविष्य नयाँ प्रविधिसँग मात्र जोडिएको छैन, त्यस प्रविधिलाई सहयोग गर्ने दक्ष प्राविधिक जनशक्ति निर्माणसँग पनि जोडिएको छ। प्राविधिकलाई उचित तालिम र अन्तर्राष्ट्रिय स्तरको प्रत्यक्ष अनुभव प्रदान गर्दा उनीहरूको आत्मविश्वास बढ्नुका साथै ग्राहकलाई दिइने बिक्रीपछिको सेवासमेत प्रभावकारी हुने उनको भनाइ छ।
ईभी सर्भिसिङमा परम्परागत मेकानिकल ज्ञानसँगै विद्युतीय प्रणाली, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक कम्पोनेन्ट, डायग्नोसिस, सुरक्षा प्रणाली तथा सफ्टवेयरसम्बन्धी ज्ञान आवश्यक हुँदै गएको छ।
एसआरएम चीनमा यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन, मोटरसाइकल, कृषि उपकरण र विद्युतीय गतिशीलतासम्बन्धी उत्पादनमा सक्रिय कम्पनी हो।
नेपालमा ईभीको बजार विस्तार हुँदै जाँदा दक्ष प्राविधिक जनशक्ति विकासलाई पनि प्राथमिकता दिनुपर्ने उद्योग क्षेत्रको धारणा छ। प्राविधिक क्षमता अभिवृद्धिले ईभीको मर्मतसम्भार, सही समस्या पहिचान र बिक्रीपछिको सेवाको गुणस्तर सुधार गर्नुका साथै उपभोक्ताको विद्युतीय सवारीप्रतिको विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भिजी मोटर्सले एसआरएम, नेपाल अटो मेकानिक्स महासंघलगायत सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिँदै नेपालमा ईभी क्षेत्रका लागि दक्ष र भविष्यअनुकूल प्राविधिक जनशक्ति विकासमा योगदान गर्ने जनाएको छ।



























































