काठमाडौं- त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन केन्द्रीय विभागमा सञ्चालित एमबीएस स्नातकोत्तर तह कक्षा सञ्चालन प्रणाली सुधार तथा विद्यार्थीमैत्री व्यवस्थापनको माग गर्दै विद्यार्थीहरूले उपकुलपतिसमक्ष ७ बुँदे मागपत्र बुझाएका छन्।
हाल एमबीएस कक्षा डे–सिफ्टमा मात्र सञ्चालन भइरहेको भन्दै विद्यार्थीहरूले बिहान तथा साँझको सिफ्टमा समेत कक्षा सञ्चालन गर्न माग गरेका छन्। उनीहरूका अनुसार स्नातकोत्तर तहमा अध्ययनरत अधिकांश विद्यार्थी २४ देखि ३० वर्ष उमेर समूहका छन्। यस उमेरमा विद्यार्थीहरू रोजगारी, इन्टर्नसिप, अनुसन्धान, सीप विकास तथा अन्य व्यावसायिक गतिविधिमा समेत संलग्न हुने भएकाले डे–सिफ्टमा मात्र कक्षा सञ्चालन हुँदा अध्ययनसँगै रोजगारी तथा व्यावसायिक अवसरमा असर परेको छ।
विशेषगरी विभिन्न जिल्ला तथा दुर्गम क्षेत्रबाट काठमाडौंमा उच्च शिक्षा अध्ययनका लागि आएका विद्यार्थीहरू दैनिक जीवनयापन, यातायात तथा अध्ययन खर्च व्यवस्थापन गर्न रोजगारीमा निर्भर हुनुपर्ने अवस्था रहेको मागपत्रमा उल्लेख छ। कक्षा सञ्चालनको समयका कारण नियमित रोजगारी गर्न नसक्दा उनीहरू आर्थिक, मानसिक तथा शैक्षिक रूपमा प्रभावित भइरहेको विद्यार्थीहरूको भनाइ छ।
विद्यार्थीहरूले नेपालजस्तो विकासोन्मुख मुलुकमा उच्च शिक्षालाई श्रमबजारसँग जोड्दै अध्ययनसँगै काम गर्ने अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। आधुनिक, समावेशी, लचिलो तथा विद्यार्थीमैत्री शैक्षिक प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिँदै उनीहरूले हालको व्यवस्थाले विद्यार्थीको आर्थिक आत्मनिर्भरता, अनुसन्धान, प्रतिस्पर्धात्मक क्षमता तथा व्यावसायिक विकासका अवसर सीमित गरेको बताएका छन्।
मागपत्रमा व्यवस्थापन केन्द्रीय विभागअन्तर्गत सञ्चालित एमबीएस कक्षालाई मर्निङ र इभिनिङ सिफ्टमा सञ्चालन गर्न, नयाँ भवनमा एमबीएसका सम्पूर्ण कक्षा यथाशीघ्र सञ्चालन गर्न तथा व्यवस्थापन केन्द्रीय विभाग बीच समायोजन गरी एउटै विश्वविद्यालयभित्र समान शैक्षिक प्रणाली लागू गर्न माग गरिएको छ।
त्यस्तै, अध्ययनरत विद्यार्थीले शुल्क किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था तत्काल लागू गर्न, विद्यार्थीमैत्री, लचिलो तथा समावेशी शैक्षिक वातावरण निर्माण गर्न तथा कक्षा सञ्चालन, प्रशासनिक सेवा र शैक्षिक व्यवस्थापन प्रणालीमा समयानुकूल सुधार गर्न माग गरिएको छ।
विद्यार्थीहरूले पुस्तकालय विकास शुल्कका नाममा प्रत्येक सेमेस्टर विद्यार्थीबाट लिइँदै आएको शुल्क घटाउनसमेत माग गरेका छन्। मागपत्रमा पुस्तकालयको सेवा प्रभावकारी रूपमा उपलब्ध नभएको अवस्थामा विद्यार्थीबाट शुल्क लिने व्यवस्था अन्यायपूर्ण भएको भन्दै शुल्कलाई अधिकतम रु. ५०० मा सीमित गर्न माग गरिएको छ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै तहका परीक्षाका परीक्षा केन्द्र आंगिक तथा सामुदायिक क्याम्पसमा प्राथमिकताका साथ निर्धारण गर्न र क्रस क्याम्पसलगायत निजी क्याम्पसलाई परीक्षा केन्द्र नबनाउने व्यवस्था गर्न पनि माग गरिएको छ।
विद्यार्थीहरूले यी मागहरू तत्काल सम्बोधन गरी अध्ययन, रोजगारी, अनुसन्धान तथा व्यावसायिक विकासका लागि सहज र अनुकूल वातावरण निर्माण गर्न विश्वविद्यालय नेतृत्वसमक्ष आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीमैत्री शैक्षिक सुधारको माग पछिल्लो समय विभिन्न तहबाट उठ्दै आएको छ।




























































