काठमाडौं- संघीय संसद् भवन परिसरलाई हरियाली तथा व्यवस्थित बनाउने उद्देश्यले वृक्षारोपण गरिएको छ। सिंहदरबारस्थित संघीय संसद् भवननजिकै रहेको खाली जमिनमा सभामुख डीपी अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्तरूपमा वृक्षारोपण गरेका हुन्।
वृक्षारोपण कार्यक्रममा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरू, संघीय संसद् सचिवालयका कर्मचारीलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले संसद् परिसरको वातावरणलाई थप स्वच्छ, हराभरा र आकर्षक बनाउन वृक्षारोपणको महत्व रहेको बताएका छन्।
संसद् सचिवालयका अनुसार हाल खाली रहेको उक्त जमिनमा विभिन्न प्रजातिका बिरुवा रोपेर व्यवस्थित बगैँचा निर्माण गर्ने योजना रहेको छ। बगैँचा निर्माण भएपछि संसद् भवन परिसरको सौन्दर्य थप बढ्नुका साथै वातावरणीय रूपमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
संसद् भवनजस्तो महत्वपूर्ण सार्वजनिक स्थलको वातावरणलाई स्वच्छ र हरियालीयुक्त बनाउन वृक्षारोपण तथा हरित क्षेत्र विस्तारलाई प्राथमिकता दिइएको सचिवालयले जनाएको छ।
सांसद तथा कर्मचारीहरूको सहभागितामा गरिएको वृक्षारोपणले संसद् परिसरमा वातावरण संरक्षण र हरियाली प्रवर्द्धनप्रतिको सन्देशसमेत दिने अपेक्षा गरिएको छ। आगामी दिनमा रोपिएका बिरुवाको संरक्षण तथा बगैँचाको व्यवस्थित विकासमा समेत ध्यान दिइने संसद् सचिवालयले जनाएको छ।



























































