काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अप्रत्याशित रूपमा दर्शकको चाप बढेपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष तयारी थालेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिदाका दिनमा अझ धेरै दर्शक आउने अपेक्षा गर्दै पार्किङलगायत व्यवस्थापनलाई थप व्यवस्थित बनाउन लागेको हो।
आयोजकका अनुसार एक्स्पोमा दैनिक औसत २५ हजारभन्दा बढी दर्शक तथा मेला अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ। यसैलाई ध्यानमा राख्दै शनिबार र आइतबार पार्किङ व्यवस्थापनका लागि विशेष व्यवस्था मिलाइएको नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिए।
एक्स्पोको सुरुवाती चार दिनमै भृकुटीमण्डप क्षेत्रका खुला स्थान र नेपाल पुलिस क्लब भवनका दुवै तलामा समेत पार्किङको व्यवस्था हुँदाहुँदै पार्किङ अभाव देखिएको उनले बताए। दर्शकको उल्लेख्य सहभागिताका कारण बिदाका दुई दिनका लागि थप तयारी गरिएको उनको भनाइ छ।
एक्स्पोका व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक शैलज भट्टराईका अनुसार एक्स्पो सुरु हुनुअघि नै भृकुटीमण्डपको गेटबाहिर दर्शकको लाइन लाग्ने गरेको छ। एक्स्पो बिहान ११ बजेबाट सुरु हुने भए पनि बिहान १० बजेदेखि नै दर्शक आउन थालेको उनले बताए।
भक्तपुरकी पुरानो ठिमीकी नविना नकर्मीले पनि मेलामा आफूले अनुमान गरेभन्दा धेरै मानिसको भीड देखेको बताइन्। विभिन्न ब्रान्डका सवारीसाधन, तिनका फिचर तथा सुविधाबारे जानकारी लिन आफू एक्स्पोमा आएको उनले बताइन्।
एक्स्पोको तेस्रो दिनसम्म मात्रै १ लाख ८ हजारभन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन्। उद्घाटनका दिन २६ हजार २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। विभिन्न कम्पनीहरूले नयाँ–नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै आफ्ना स्टलमा दर्शकलाई आकर्षित गरिरहेका छन्। विकल्प धेरै भएकाले उपभोक्तालाई आफूले चाहेको सवारीसाधन छनोट गर्न सहज भएको आयोजकको भनाइ छ।
विशेषगरी दुईपांग्रे सवारीसाधनतर्फ पनि उल्लेख्य भीड देखिएको छ। महँगा तथा प्रिमियम ब्रान्डका सवारीसाधनमा युवाको आकर्षण बढी देखिएको छ।
नाइमा एक्स्पो उपभोक्ताका लागि आफूले चाहेको सवारी बुकिङ गर्ने महत्वपूर्ण अवसरसमेत बनेको छ। दर्शकहरूले ब्याट्री क्षमता, मोटर, रेन्ज, अफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालुलगायत विषयमा चासो राखिरहेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा न्यून ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन्।
एक्स्पोमा हालसम्म विभिन्न ब्रान्डले ५२ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्। आयोजकले मेला अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ।
एक्स्पोअन्तर्गत शुक्रबार ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयमा ‘नाइमा मोबिलिटी संवाद’ आयोजना गरिएको थियो। संवादमा ईभी ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग तथा रिसाइक्लिङका लागि स्पष्ट प्रणाली आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका थिए।
नाइमा नेपाल मोबिलिटी एक्स्पोको दोस्रो संस्करण दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको हो। साउन ३१ गतेसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता तथा आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ।
एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले पनि सवारी खरिदका लागि विभिन्न अफर तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेका छन्।



























































