काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत लिन लागेको हो ।


ADVERTISEMENT


बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएयता मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको यो छैटौँ पटक हो । प्रदेश सभामा हाल १०४ सदस्य कायम छन् । सरकारलाई बहुमत सिद्ध गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक हुन्छ ।


ADVERTISEMENT

# # #


तर, मुख्यमन्त्री बानियाँको पक्षमा अहिले नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्रै देखिएका छन् । त्यसैले सरकार जोगाउन बानियाँले थप १५ सांसदको समर्थन जुटाउनुपर्ने चुनौती छ ।

एमालेले समर्थन फिर्ता लिएसँगै बागमतीको सत्ता समीकरणमा नयाँ तरंग आएको छ । नेकपा र एमाले नयाँ सरकार गठनका लागि छलफलमा जुटेका छन् । प्रदेश सभामा नेकपाका २६ र एमालेका २५ गरी दुई दलसँग ५१ सांसद छन् । उनीहरूबीच सहमति भए पनि बहुमतका लागि अझै दुई सांसद आवश्यक पर्ने अवस्था छ ।

प्रदेश सभाको तेस्रो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का १२ सांसद छन् । राप्रपाले भने सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरिसकेको छ । त्यस्तै, तीन सांसद रहेको नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०ले पनि प्रतिपक्षमै बस्ने अडान कायम राखेको छ ।

यस्तो अवस्थामा मुख्यमन्त्री बानियाँका लागि विश्वासको मत जुटाउनु चुनौतीपूर्ण बनेको छ । कांग्रेसले सरकारलाई निरन्तरता दिन अन्य दल तथा स्वतन्त्र सांसदसँग संवाद अघि बढाएको छ भने एमाले र नेकपाबीच पनि वैकल्पिक सरकार गठनका लागि छलफल तीव्र बनाइएको छ ।
मुख्यमन्त्री बानियाँले केही दिनअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा समेत बागमती प्रदेशको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए ।

प्रदेश सभाको अंकगणित कुनै पनि पक्षका लागि सहज नरहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वका लागि सबै दलसँग सहकार्यको प्रयास भइरहेको बताएका थिए ।

बागमती प्रदेशमा सरकार परिवर्तनको खेल नयाँ भने होइन । २०७९ मंसिरको निर्वाचनपछि गठन भएको प्रदेश सभामा यसअघि नै तीन मुख्यमन्त्रीले पाँच पटक विश्वासको मत लिइसकेका छन् । यस अवधिमा माओवादी केन्द्र ९हाल नेकपा०बाट एक तथा कांग्रेसबाट दुई मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए ।

गत २०८२ साउन २७ गते मुख्यमन्त्री बानियाँले यसअघि विश्वासको मत लिएका थिए । त्यसबेला कांग्रेसका ३६ र तत्कालीन गठबन्धनमा रहेको एमालेका २७ सांसदले उनको पक्षमा मतदान गरेका थिए । कांग्रेसका एक सांसद भने बैठकमा अनुपस्थित थिए ।
अब भने एमालेले समर्थन फिर्ता लिएपछि बानियाँसामु पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । भदौ १ गते हुने मतदानमा आवश्यक ५३ सांसदको समर्थन जुटाउन सके बानियाँले सरकारलाई निरन्तरता दिनेछन् भने बहुमत नपुगे बागमतीमा नयाँ सत्ता समीकरणको बाटो खुल्नेछ ।