काठमाडौं – नेपालका २० वटा वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशतबाट घटेर ४.१३६ प्रतिशतमा झरेको छ।
संस्थागत निक्षेपको औसत अधिकतम दर पनि ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशतमा पुगेको छ। भदौका लागि पाँच बैंकले ब्याजदर घटाएका छन् भने १५ बैंकले साउनकै दरलाई निरन्तरता दिएका छन्।
सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर सबैभन्दा धेरै ०.२९ प्रतिशतविन्दुले घटाएर ३.७६ प्रतिशतमा सीमित गरेको छ। नेपाल बैंकले व्यक्तिगततर्फ ४.१५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ।
अधिकतम ब्याजदरमा नबिल र प्रभु बैंक ४.५५ प्रतिशतसहित अगाडि छन्। बैंकिङ क्षेत्रमा निक्षेप बढ्दै जानु र कर्जाको माग अपेक्षाकृत कमजोर रहनुले बैंकहरूलाई निक्षेपको लागत घटाउने दबाब बढाएको देखिन्छ।





























































