ललितपुर – ललितपुर महानगरपालिकाले चिकित्सक सहितको निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


सोमबार महानगर परिसरमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थीतिमा चिकित्सक सहितको निशुल्क एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको हो । सो क्रममा मन्त्री मेहताले जनप्रतिनिधि र स्वास्थ्य मन्त्रालय दुवैको मुख्य उद्देश्य जनतालाई शत प्रतिशत गुणस्तरीय सेवा प्रवाह गर्नु रहेको बताइन ।


ADVERTISEMENT

# # #


ललितपुर महानगरपालिकालाई स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक सम्पूर्ण नीतिगत तथा व्यावहारिक सहजीकरण गर्ने उनले बताइन । ट्राफिक जाम वा अन्य अवरोधका बीच एम्बुलेन्समा उपलब्ध स्वास्थ्यकर्मी र प्राथमिक उपचारले ठूलो क्षति वा दुर्घटनाबाट ज्यान जोगाउन सक्ने उनले बताइन् ।

त्यस्तै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले देशभरका २९३ नगरपालिकाहरूमध्ये स्वास्थ्य क्षेत्रमा सबैभन्दा उत्कृष्ट कार्य गरेको भन्दै ललितपुर महानगर पुरस्कृत भएको जानकारी दिए । उनले विगतमा पाटन अस्पताल, स्वास्थ्यकर्मी तथा डाक्टरहरूको साथ रहेकोमा हाल वीर अस्पताल र टिचिङ अस्पताल लगायतको समेत सहयोग प्राप्त हुन लागेकोले कार्यक्रम सफल हुनेमा पूर्ण विश्वास व्यक्त गरे ।

कोभिडको समयमा पाटन अस्पतालमा देखिएको अक्सिजन अभावलाई सम्बोधन गर्न ललितपुर महानगरपालिकाको शतप्रतिशत आर्थिक लगानीमा अक्सिजन प्लान्ट जडान गरिएको उहाले बताए । महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर ११३१ मा फोन गरेपछि एम्बुलेन्स, डाक्टर, नर्स तथा आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुग्ने व्यवस्था गरिएको महर्जनले बताए ।