काठमाडौं – जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार अदालत उपस्थित गराएको थियो । यसअघि सोही अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि अदालतले ४ दिनको समय दिएको हो ।
श्रेष्ठको गिरफ्तारीलाई गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा आजै सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको छ ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार पक्राउ गरेको थियो ।




























































