काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले विदेशस्थित नेपाली नियोगका लागि आफ्नै जग्गामा दूतावास तथा आवासीय भवन निर्माण गरी घरभाडामा हुने खर्च घटाउने योजना अघि बढाएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले आफ्नै जग्गा भएका नेपाली नियोगका भवन क्रमिक रूपमा निर्माण गर्दै जाने योजना रहेको जानकारी दिएका छन्। विदेशस्थित नेपाली नियोगका भवन नेपालको पहिचान र प्रतिनिधित्व झल्कने खालका हुनुपर्नेमा पनि उनले जोड दिए।
मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगका लागि गत आर्थिक वर्षमा घरभाडाबापत करिब १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च भएको थियो। विदेशमा सार्वजनिक भवन निर्माणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा भवन निर्माणमा ढिलाइ भएको उनले बताएका छन्।
कानुनी आधार तयार भएसँगै परराष्ट्र मन्त्रालयले आफ्नै जग्गा भएका नेपाली नियोगमा भवन निर्माणको प्रक्रिया अघि बढाएको मन्त्री खनालले जानकारी दिएका छन्। अष्ट्रेलिया, साउदी अरेबिया र थाइल्यान्डमा चान्सरी तथा आवासीय भवन निर्माणका लागि प्रक्रिया अघि बढाइएको उनले बताएका छन्।
यसैगरी, विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको मन्त्री खनालले जानकारी दिएका छन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा हाल ३७४ जना स्थानीय कर्मचारी कार्यरत रहेको उनले बताए। तीमध्ये १८५ जना नेपाली नागरिक र १२६ जना विदेशी नागरिक रहेको मन्त्री खनालको भनाइ छ।





























































