काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मंगलबार नेपाल भाषा मंका खलःमा पुगेर मन्त्री पौडेलले श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान तथा श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले पनि श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
यसैगरी साहित्यकार, विभिन्न क्षेत्रका व्यक्तित्व, शुभेच्छुक तथा आफन्तजनले पनि जनकवि श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन्।
नेपाल भाषाका जनकवि श्रेष्ठको आइतबार राति ९१ वर्षको उमेरमा काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।
श्रेष्ठले नेपाली साहित्य र नेपाल भाषाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए। उनले २०६० सालमा नेपाल भाषा परिषद्बाट ‘जनकवि’ उपाधि प्राप्त गरेका थिए भने २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद्का रूपमा जिम्मेवारी सम्हालेका थिए। नेपाल भाषामा उनका दर्जनौँ कृति प्रकाशित छन्।





























































