काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपाल र भारतका सेनाबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ।
भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका थिए।
भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।





























































