काठमाडौं- सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउँदै साहु–महाजनले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्।


ADVERTISEMENT


साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र एकतर्फी रहेको भन्दै उनीहरूले काठमाडौंमा आन्दोलन थालेका हुन्। उनीहरूले सम्झौतामा कपाली तमसुक, दृष्टिबन्धक, राजीनामा र चेक बाउन्सलगायतका कारोबार तथा प्रक्रियालाई अवैध भनिएकोप्रति असन्तुष्टि जनाएका छन्।


ADVERTISEMENT

# # #


राजीनामाबाट भएको वैधानिक खरिद–बिक्रीलाई सरकारले कुन कानुनी आधारमा तोड्न सक्छ भन्दै साहु–महाजनले यसका लागि छुट्टै कानुन आवश्यक रहेको धारणा राखेका छन्।

साहु–महाजनका प्रतिनिधि विनय यादवले सबै कारोबारलाई अवैध करार गर्दा विशेषगरी मधेश प्रदेशका गाउँघरमा सामाजिक संरचना प्रभावित हुने, सामाजिक विकृति बढ्ने र भविष्यमा द्वन्द्व सिर्जना हुन सक्ने बताएका छन्।

उनले चेक बाउन्सको कारोबार देशभर हुने भए पनि कपाली तमसुकमा आधारित लेनदेन मधेशमा धेरै हुने भएकाले यसलाई व्यवहारिक रूपमा हेर्नुपर्नेमा जोड दिएका छन्।

सरकारले एकतर्फी निर्णय नगरी साहु र ऋणी दुवै पक्षलाई सँगै राखेर समस्या सुन्नुपर्ने र भएको सम्झौता सच्याउनुपर्ने उनीहरूको माग छ।

सरकारले आफूहरूलाई वार्तामा नबोलाएसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने चेतावनीसमेत साहु–महाजनले दिएका छन्।