काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मिटरब्याज, लघुवित्त तथा सहकारी पीडितका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग आग्रह गरेकी छन्।
करिब एक सातादेखि ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोग र यूएन हाउस अगाडिको सडकमा धर्नामा बसिरहेका मिटरब्याज, लघुवित्त तथा सहकारी पीडितको आन्दोलनमा पुगेर भण्डारीले ऐक्यबद्धता जनाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेकी हुन्।
पीडितहरूले भोगिरहेका समस्याबारे आफूले जानकारी लिएको बताउँदै उनले ती समस्यालाई गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिइन्। विगतको सरकारले गरेका सम्झौतालाई आधार बनाएर वर्तमान समस्या जरोदेखि नै समाधान गर्दै दीर्घकालीन निकास दिनुपर्ने उनको भनाइ छ।
भण्डारीले सामाजिक न्यायका लागि भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी पीडित र उनीहरूको मागलाई समर्थन गर्ने सबैप्रति समेत ऐक्यबद्धता व्यक्त गरिन्।





























































