काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटनको प्रवर्द्धनसँगै स्थानीय स्तरमा पूर्वाधार विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्दै गाउँठाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताएका छन्।
बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै ढकालले स्थानीय पर्यटन, कृषि र उत्पादनलाई रोजगारीसँग जोड्नुपर्ने बताएका हुन्।
बाइसे–चौबिसे राज्यकालदेखि नै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भैरवस्थान क्षेत्रमा पर्यटन, कृषि उत्पादन र रोजगारीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तथा अन्य विदेशी पर्यटकको संख्या बढेको उल्लेख गर्दै ढकालले मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केहीलाई मात्र बागलुङका भैरवस्थानलगायत पर्यटकीय क्षेत्रमा ल्याउन सके स्थानीय अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सकिने बताएका छन्।
पर्यटकलाई कम्तीमा एक रात यस क्षेत्रमा बस्ने वातावरण बनाउन गुणस्तरीय होटल, रिसोर्ट र घरबास सेवा विस्तार गर्नुपर्ने उनको भनाइ छ। साथै, केबलकारलगायत अन्य पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय तह र समुदायको सहयोग भए छोटो समयमै सकारात्मक परिणाम निकाल्न सकिने ढकालले बताए।
ढकालले स्वदेशमै रहेको पुँजी परिचालन गरी ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले महासङ्घको ढोरपाटन बैठकको निर्णयअनुसार १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको जानकारी दिएका छन्।
उक्त कम्पनीले पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रविधिका क्षेत्रमा लगानी विस्तार गर्ने काम सुरु गरिसकेको पनि उनले बताएका छन्।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको छ।





























































