काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने नाडा अटो शो २०२६ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यावसायिक अटोमोबाइल प्रदर्शनीका रूपमा परिचित नाडा अटो शोको १८औँ संस्करण यस वर्ष नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो।
करिब ३ लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन्। प्रदर्शनीमा २३ वटा ब्रान्डका यात्रुवाहक कार, १७ वटा ब्रान्डका हलुका व्यावसायिक सवारीसाधन, १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र ७० वटा अटोमोबाइल पार्टपुर्जा, सहायक सामग्री, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा अन्य उत्पादन र सेवाका प्रदर्शनी कक्ष रहनेछन्।
प्रदर्शनीमा मानवरूपी रोबोट र चारखुट्टे रोबोट, ‘नेपालमा बनेका तथा नेपालका लागि बनेका’ सवारीसाधन, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट तथा अन्य सामग्रीको विशेष प्रदर्शनी गरिनेछ।
त्यस्तै, विभिन्न ब्रान्डका नयाँ सवारीसाधन तथा नयाँ मोडल सार्वजनिक गर्ने कार्यक्रम, स्मार्ट मोबिलिटी, सवारीसाधनको दिगो विकास तथा विद्युतीय सवारीसाधनमा केन्द्रित छलफल कार्यक्रम पनि आयोजना गरिनेछ।
आयोजकका अनुसार नाडा अटो शोले सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई एउटै मञ्चमा ल्याउनुका साथै उपभोक्तालाई बजारमा उपलब्ध नयाँ उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गराउनेछ।
प्रदर्शनीमा टिकटको अग्रिम बुकिङ, सञ्चारकर्मीका लागि सञ्चार कक्ष, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक सूचना कक्ष, स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगलागी नियन्त्रण तथा पार्किङको विशेष व्यवस्था गरिने आयोजकले जनाएको छ।
नाडाका अनुसार ६ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब २ लाख आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।





























































