काठमाडौं- एनसेलले मंगलबारदेखि १९८ गन्तव्य मुलुकमा आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको नयाँ पल्स दर लागू गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृतिअनुसार एनसेलले अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको कम्पनीले जनाएको छ।
नयाँ पल्स दरअन्तर्गत अमेरिका, क्यानडा, अष्ट्रेलिया, भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, कतार, साउदी अरेबिया, सिंगापुर, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, जर्मनी, फ्रान्सलगायत १९८ वटा गन्तव्य मुलुक समेटिएका छन्।
एनसेलका अनुसार नयाँ पल्स दर लागू भएका सबै मुलुकको पूर्ण सूची तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्कसम्बन्धी विवरण कम्पनीको वेबसाइटमा उपलब्ध गराइएको छ।





























































