काठमाडौं – सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनको मोलमोलाइ भएको आरोपसम्बन्धी उजुरी अझै विस्तृत अनुसन्धानकै क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।


ADVERTISEMENT


प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका निमित्त सचिव पद्मा मैनालीले सेक्युरिटी प्रेस खरिद प्रकरणको उजुरी विस्तृत अनुसन्धानमा रहेको जानकारी दिएकी हुन्।


ADVERTISEMENT

# # #


यो प्रकरण तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको छ। २०७६ फागुनमा सार्वजनिक भएको एक अडियोमा बाँस्कोटा र सेक्युरिटी प्रेसका लागि स्वीस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीच खरिद लागत तथा कमिसनका विषयमा कुराकानी भएको सार्वजनिक भएको थियो।

अडियो सार्वजनिक भएपछि बाँस्कोटाले सञ्चारमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उक्त प्रकरणमा अख्तियारमा उजुरी परेको थियो। आयोगले त्यसयता अनुसन्धान अघि बढाउँदै आएको जनाएको छ।

यसअघि २०८० सालमा अख्तियारका तत्कालीन प्रमुख आयुक्त प्रेमकुमार राईले पनि संसद्को सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रेस खरिदसँग सम्बन्धित ७० करोड रुपैयाँको ‘टेप प्रकरण’बारे अनुसन्धान भइरहेको बताएका थिए।

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा पनि आयोगले सोही प्रकरण विस्तृत अनुसन्धानको चरणमा रहेको स्पष्ट पारेको हो। लामो समय बितिसक्दा पनि अनुसन्धान निष्कर्षमा नपुगेपछि यो प्रकरण फेरि चर्चामा आएको छ।