काठमाडौं-  नेपालमा सवारीसाधन र अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।


ADVERTISEMENT


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार करिब ३ लाख वर्गफिट क्षेत्रफलमा २०० भन्दा बढी स्टल रहने प्रदर्शनीमा ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन् । तीमध्ये २३ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल र १३ वटा दुईपांग्रे ब्रान्ड रहेका छन् ।


ADVERTISEMENT

# # #


तर प्रदर्शनीमा सवारीसाधनका ब्रान्ड मात्र मुख्य आकर्षण हुने छैनन् । अटोमोबाइल उद्योगसँग सम्बन्धित करिब ७० वटा कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेल्मेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डायग्नोस्टिक उपकरण, वर्कसप उपकरण, जीपीएस तथा टेलिम्याटिक्स प्रणाली, एसेसरिज र ईभी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन् ।

त्यस्तै, करिब १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी पनि अटो शोमा सहभागी हुनेछन् । उनीहरूले सवारी कर्जा, मोटर बीमा तथा विद्युतीय सवारीसाधनका लागि लक्षित वित्तीय योजनासमेत प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट र ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको छ । यसले उपभोक्तालाई सवारी खरिदसँगै त्यसको सञ्चालन, मर्मत, बीमा तथा वित्तीय व्यवस्थाबारे समेत एउटै स्थानबाट जानकारी लिन सहज बनाउने अपेक्षा गरिएको छ ।

यसपटकको अटो शोमा विभिन्न देशका सवारी ब्रान्डको समेत सहभागिता रहनेछ । स्कोडा, प्रोटोन, चेरी, ओमोडा, जेको, जीडब्लूएम लगायतका ब्रान्डसँगै जापानी, भारतीय, कोरियाली, चेक, मलेसियन तथा चिनियाँ सवारीसाधन एउटै प्रदर्शनीमा देख्न सकिनेछ ।

प्रदर्शनीमा अन्तर्राष्ट्रिय व्यवसायिक पभिलियन तथा ‘मेड इन नेपाल/मेड फर नेपाल’ पभिलियन समेत रहने आयोजकले जनाएको छ । विदेशी प्रदर्शकसँगै नेपालमै उत्पादन तथा एसेम्बल गरिएका सामग्रीलाई पनि छुट्टै स्थान दिइनेछ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शो गाडीको प्रदर्शनी मात्र नभई सवारीसाधन सञ्चालनसँग जोडिएको सम्पूर्ण उद्योगलाई उपभोक्तासामु प्रस्तुत गर्ने अवसर भएको बताए ।

उनका अनुसार मानिसले सवारीसाधन किन्न केही समय खर्च गरे पनि त्यसपछि वर्षौँसम्म वर्कसप, बैंक, बीमा कम्पनी तथा टायर पसलजस्ता सेवासँग जोडिनुपर्ने भएकाले अटोमोबाइल उद्योगको यो पक्षलाई पनि प्रदर्शनीमा विशेष स्थान दिइएको हो ।

१८औँ नाडा अटो शो २०२६ भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुनेछ ।