जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा ‘अग्रगामी मोर्चा’को मधेश प्रदेशस्तरीय बैठक जनकपुरधाममा सम्पन्न भएको छ । विभिन्न ९ राजनीतिक दल सहभागी बैठकले मोर्चाको संगठन विस्तारसँगै आगामी राजनीतिक तथा जनपरिचालनका कार्यक्रम तय गरेको छ ।
शुक्रबार बसेको बैठकले मधेश प्रदेश समन्वय समिति गठन गर्नुका साथै आगामी भदौ १० गतेभित्र मधेशका आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । जिल्ला समिति गठनको जिम्मेवारीसमेत मोर्चामा आबद्ध विभिन्न दललाई बाँडफाँट गरिएको छ ।
बैठकले सिरहाका गणेश यादवको प्रहरी गोली प्रहारबाट भएको मृत्यु तथा बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । मोर्चाले दुवै घटनाका पीडित परिवारलाई तत्काल न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
मोर्चाले गठन गरेको मधेश प्रदेश समन्वय समितिमा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टीलगायत घटक दलबाट प्रतिनिधि राखिएको छ ।
जिल्लागत रूपमा सप्तरीमा जनमत पार्टी, सिरहामा बहुजन एकता पार्टी, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी, सर्लाहीमा नागरिक उन्मुक्ति पार्टी तथा रौतहटमा आम जनता पार्टीलाई समिति गठनको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, बारामा जसपा नेपाल र आजपा, धनुषामा जसपा नेपाल तथा पर्सामा प्रगतिशील लोकतान्त्रिक पार्टीलाई जिल्ला समन्वय समिति गठनको जिम्मेवारी दिइएको छ ।
संगठन विस्तार र जनपरिचालनलाई तीव्रता दिन मोर्चाले दुई ठूला क्षेत्रीय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ । जसअनुसार आगामी भदौ २७ गते जनकपुरमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पाँच जिल्लालाई समेटेर संयुक्त भेला आयोजना गरिनेछ ।
त्यस्तै रौतहट, बारा र पर्सालाई समेटेर असोज ३ गते वीरगन्जमा बृहत् भेला आयोजना गर्ने निर्णय भएको छ ।
यसरी मधेश प्रदेशमा ९ दललाई एक ठाउँमा ल्याएर गठन गरिएको ‘अग्रगामी मोर्चा’ले संगठन विस्तार र जनपरिचालनमार्फत आफ्नो राजनीतिक गतिविधि थप सक्रिय बनाउने संकेत गरेको छ ।





























































