काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत थापाले गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन्।
गरिमा हराएको दिनदेखि नै परिवारले राज्यको साथ र न्यायको अपेक्षा गरिरहेको उल्लेख गर्दै थापाले पीडित परिवारको पीडा सरकारले बुझेको छ कि छैन भन्दै प्रश्न गरेका छन्। न्यायको आशामा परिवारले अझै पनि सरकारलाई गुहारिरहेको उनको भनाइ छ।
थापाले घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कडा सजाय दिलाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
उनले यस्ता घटना दोहोरिन नदिन बालबालिकाको सुरक्षाका लागि सुरक्षा संयन्त्रलाई थप प्रभावकारी, संवेदनशील र जवाफदेही बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
गरिमा चौधरी हत्या प्रकरणमा पीडित परिवारलाई न्याय दिलाउनुका साथै दोषीमाथि कडा कारबाही हुनुपर्ने र आगामी दिनमा यस्ता घटना रोक्न राज्यले ठोस कदम चाल्नुपर्ने थापाको जोड छ।





























































