काठमाडौं-  काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग लागेका व्यक्तिमाथि भेदभाव गर्नु सामाजिक अन्याय भएको बताएकी छन्।


ADVERTISEMENT


उनले कुष्ठरोग कुनै व्यक्तिको पहिचान नभई स्वास्थ्य अवस्था मात्र भएको स्पष्ट पार्दै रोगकै कारण कसैलाई सामाजिक रूपमा अलग्याउने, अपहेलित गर्ने वा अधिकारबाट वञ्चित गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिइन्।


ADVERTISEMENT

# # #


डंगोलले कुष्ठरोगप्रतिको डर, भ्रम र गलत धारणाका कारण संक्रमित व्यक्तिहरूले अझै पनि समाजमा विभेद भोग्नुपरेको बताइन्। उनले सही सूचना र प्रभावकारी जनचेतनामार्फत रोगबारे रहेका गलत बुझाइ हटाउनुपर्ने आवश्यकता औँल्याइन्।

उनका अनुसार कुष्ठरोग लागेका व्यक्तिलाई उपचारसँगै सम्मानजनक जीवनयापनको वातावरण दिनु पनि समाजको दायित्व हो। रोगका कारण कुनै पनि व्यक्तिको सामाजिक तथा मानवीय अधिकार खोसिन नहुने उनको भनाइ छ।

कुष्ठरोगसम्बन्धी सचेतना विस्तारका लागि काठमाडौं महानगरपालिका सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको डंगोलले बताइन्।

उनले कुष्ठरोगलाई लिएर समाजमा रहेको डर र विभेद अन्त्य गर्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिँदै ‘रोगसँग होइन, रोगप्रतिको गलत सोचसँग लड्नुपर्ने’ बताइन्।