काठमाडौं-  नेपाली कांग्रेसको विदेशस्थित जनसम्पर्क समितिको नेतृत्व चयन प्रक्रिया तीव्र बनेको छ। पार्टीको विशेष महाधिवेशनअघि विभिन्न १४ देशमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको हो।


ADVERTISEMENT


कांग्रेसको विदेशस्थित संगठनमा कुवेतदेखि अमेरिकासम्म नयाँ नेतृत्व आएको छ। अधिवेशनबाट कुवेतमा केशर घलान, नर्वेमा पारसमणि मिश्र, बहराइनमा शेरबहादुर रावत, ओमानमा सञ्जयकुमार साह, साउदी अरेबियामा तुसनबहादुर थापा, यूएईमा भुवानीप्रसाद तिमिल्सिना र मलेसियामा चोलाकान्त पंगेनी सभापति बनेका छन्।


ADVERTISEMENT

# # #


त्यस्तै जापानमा राजेन्द्रकुमार जमरकट्टेल, दक्षिण कोरियामा भजिन्द्र क्षेत्री, नेदरल्याण्डमा जितेन्द्रकुमार श्रेष्ठ, बेल्जियममा देवेन्द्र शर्मा (देबु), फ्रान्समा शिवराम भण्डारी, भारतमा दिपक झा र अमेरिकामा मुनिन्द्र नेम्बाङ नेतृत्वमा आएका छन्।

हङकङमा भने शैलेन्द्रसिंह बोगटी सभापति चयन भएका छन्।यससँगै कांग्रेसको विदेशस्थित संगठनमा नयाँ नेतृत्वको संरचना तयार भएको छ। पार्टीका अनुसार विश्वका ३७ देशमा जनसम्पर्क समिति रहेका छन्।

विशेष महाधिवेशनलाई लक्षित गर्दै बाँकी देशमा समेत अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढिरहेको कांग्रेसले जनाएको छ। विदेशमा रहेका नेपाली कांग्रेसका समर्थक तथा सदस्यलाई संगठित गर्ने र पार्टीको गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने जनसम्पर्क समितिको मुख्य भूमिका रहँदै आएको छ।