काठमाडौं – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अदालत कुनै पनि राजनीतिक दलको आन्तरिक विषयमा प्रवेश गर्न नहुने धारणा व्यक्त गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अदालतमा रिट निवेदन दर्ता हुँदैमा आत्तिनुपर्ने वा परिणामबाट विचलित हुनुपर्ने कुनै कारण नरहेको बताए।


ADVERTISEMENT


कांग्रेसको विशेष महाधिवेशनलाई स्वीकार गर्दै सबै पक्ष सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै केसीले राष्ट्रिय एकता र लोकतन्त्रका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताए। उनले कांग्रेस दुई तिहाइको सरकारलाई पाँच वर्षसम्म टिकाउन सधैँ तयार रहेको उल्लेख गर्दै काम गर्दा विधि र प्रक्रिया पूरा गर्न आग्रह गरे।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणको प्रशंसा गर्दै केसीले प्रधानमन्त्रीले जुन उद्देश्यका साथ भ्रमण गरे पनि संसदमा प्रस्तुत गरिएको सामग्री अझ राम्रो हुने विश्वास व्यक्त गरे।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पछिल्लो समय बढिरहेका बलात्कारका घटनालाई निरुत्साहित गर्न सरकारले कडाभन्दा कडा कानुन बनाउनुपर्ने माग गरेका छन्। संसद् बैठकबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले छिटोभन्दा छिटो विद्यमान कानुन संशोधनका लागि सबैले साथ दिनुपर्ने बताए।

एमाले सांसद पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार असफल भएको आरोप लगाएकी छन्। दिनानुदिन विभिन्न घटना भइरहे पनि सरकारले कुनै ठोस कदम चाल्न नसकेको उनको आरोप छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले पनि बलात्कारका घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। कानुन संशोधन गरेर भए पनि दोषीलाई कठोर सजाय दिनुपर्नेमा उनले जोड दिएका छन्।