काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सबैको साझा प्रयासबाट मात्रै न्यायपूर्ण, सक्षम, उत्तरदायी र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन्।


ADVERTISEMENT


सोमबार नेपाल जनप्रशासन संघद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुसार देश विकास गर्ने जिम्मेवारी सबैको साझा भएको बताए।


ADVERTISEMENT

# # #


राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहना सुशासनका माध्यमबाट पूरा गर्नुपर्नेमा जोड दिए। सूचना प्रविधिको विकाससँगै विश्वव्यापीकरण र आधुनिकीकरण तीव्र भइरहेको अवस्थामा राज्यको सफलता र विकासलाई आर्थिक विकासको सूचकबाट मात्रै हेर्न नहुने उनको भनाइ थियो।

उनले समाजलाई प्रविधिभन्दा पनि नैतिकता, आचरण र इमानदारीको खाँचो रहेको उल्लेख गरे। सार्वजनिक जीवनदेखि सामाजिक व्यवहारसम्म इमानदारी, जिम्मेवारी र नैतिक आचरण कायम हुनुपर्नेमा उनले जोड दिए।

राष्ट्रपति पौडेलले लोकतन्त्र, सुशासन र सामाजिक सद्भावलाई बलियो बनाउन नागरिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आचरण महत्वपूर्ण हुने बताए। नैतिकता र इमानदारी कमजोर हुँदा राज्यका विभिन्न क्षेत्रमा जनविश्वास प्रभावित हुन सक्ने भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा डा. रामकुमार माकु श्रेष्ठ र रमेश्वरप्रसाद खनाललाई हेमबहादुर मल्ल सम्मानबाट सम्मानित गरिएको छ।