हेटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री किरण थापाले लिएको विश्वासको मत संसदीय मर्यादा, लोकतान्त्रिक अभ्यास, संवैधानिकता र राजनीतिक मूल्य–मान्यताविपरीत भएको आरोप लगाएका छन् ।
मंगलबार प्रदेशसभा बैठकमा बोल्दै बानियाँले सरकार गठनसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा हतार–हतार विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाए ।
उच्च अदालत पाटनको हेटौँडा इजलासले बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाएको अवस्थामा अदालतको प्रक्रिया पूरा भएपछि मात्रै विश्वासको मत लिनुपर्ने कांग्रेसको माग रहेको उनले बताए । ‘बहुमत छँदै थियो भने अदालतको प्रक्रिया सकिएपछि बैठक राख्न किन सकिएन ?’ भन्दै उनले सत्तापक्षसँग प्रश्न गरे ।
बानियाँले प्रदेशसभाका सभामुखले स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा एमालेको प्रवक्ताजस्तो भएर गैरदलीय गतिविधिमा लागेको आरोपसमेत लगाए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका सांसदहरू बैठकमा अनुपस्थित रहेको अवस्थामा विश्वासको मतको प्रक्रिया अघि बढाउनु गैरलोकतान्त्रिक अभ्यास भएको उनको भनाइ छ ।
यस्तै, राप्रपाले पार्टीबाट निष्कासन गरेको जानकारी प्रदेशसभालाई गराइसकिएको अवस्थामा सम्बन्धित सांसदलाई बैठकमा सहभागी गराइएको भन्दै बानियाँले दलीय व्यवस्थाको मर्यादा उल्लङ्घन गरिएको दाबी गरे ।
अर्को दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने तथा दलीय विधानविपरीत अघि बढ्ने गतिविधिले संसदीय इतिहासमा गलत नजिर स्थापित गर्ने बानियाँले चेतावनी दिए ।
उनले वर्तमान सरकार र सभामुखको भूमिकाले संविधान, संघीयता, गणतन्त्र तथा दलीय व्यवस्थाको मर्ममाथि प्रहार गरेको भन्दै नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए ।
एमाले तथा उसलाई समर्थन गर्ने दलहरूको गतिविधिको मूल्याङ्कन समयले गर्ने भन्दै बानियाँले अदालतमा हुने छलफलबाट संविधान र दलीय प्रावधानको सही व्याख्या हुने विश्वास व्यक्त गरे ।






























































