काठमाडौं – बाढी तथा डुबानको जोखिमबारे सम्बन्धित निकायले मंगलबार राति नै सतर्क गराए पनि उक्त सूचना समयमै नागरिकसम्म प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा ठूलो क्षति निम्तिएको भन्दै सरकारको विपद् व्यवस्थापन प्रणालीमाथि प्रश्न उठेको छ।


ADVERTISEMENT


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको बाढी पूर्वसूचना प्रणालीले मंगलबार राति नै फलाखु खोला, बेँत्रावती, नुवाकोट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन सूचना जारी गरेको थियो।


ADVERTISEMENT

# # #


तर, पूर्वसूचना जारी भए पनि त्यसलाई स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रमार्फत जोखिममा रहेका नागरिकसम्म समयमै र प्रभावकारी ढंगले पुर्‍याउने तथा आवश्यक राज्य संयन्त्र परिचालन गर्ने काम पर्याप्त रूपमा हुन नसकेको देखिएको छ।

पूर्वसूचना हुँदाहुँदै पनि नागरिकले समयमै जोखिमबारे जानकारी पाउन नसक्नु र सुरक्षित स्थानतर्फ सर्न पर्याप्त समय नपाउनु गम्भीर विषय भएको स्थानीयको गुनासो छ।
विपद् आउनुअघि सूचना जारी गर्नु मात्र पर्याप्त हुँदैन। पूर्वसूचनालाई तत्काल स्थानीय तहसम्म पुर्‍याउने, जोखिममा रहेका बस्ती पहिचान गर्ने, सुरक्षा निकाय तथा उद्धार टोली परिचालन गर्ने र नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम पनि राज्यको जिम्मेवारी हो।

मंगलबार राति नै सतर्कता सूचना जारी भएको अवस्थामा पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको हो भने यसले नेपालको विपद् पूर्वतयारी र सूचना प्रवाह प्रणालीमा रहेको कमजोरीलाई उजागर गरेको छ।

समयमै सूचना पुगेको भए, राज्यका अंग समयमै परिचालन भएको भए र नागरिकले पनि समयमै सावधानी अपनाउन पाएको भए सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न सकिन्थ्यो कि भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठेको छ।

अब विपद्पछि उद्धार र राहतमा मात्र केन्द्रित हुनेभन्दा पूर्वसूचना प्राप्त भएपछि राज्य संयन्त्र कसरी तत्काल परिचालन हुन्छ र जोखिममा रहेका नागरिकसम्म सूचना कति छिटो पुग्छ भन्ने विषयमा सरकारले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ।