काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ। फुर्के (मलेखु) जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले त्रिशूली नदी आसपासका डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको बहाव थप बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन तथा आवश्यक सावधानी अपनाउन भनिएको छ।
त्यस्तै, त्रिशूली नदी करिडोर हुँदै यात्रा गर्ने यात्रुलाई पनि उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। नदीको जलसतह र बहावको अवस्था निरन्तर निगरानी भइरहेको जनाइएको छ।






























































