काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र मानवीय सहायतामा अग्रपंक्तिमा खटिन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा मानवीय सहायताको काममा अग्रपंक्तिमा खटिन विशेष निर्देशन दिएको हो।


ADVERTISEMENT

# # #


एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकले तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिक एकजुट भएर पीडितको उद्धार तथा राहतमा जुट्न आह्वान गरेको छ।

बैठकले विपद्मा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएकाले बेपत्ताको खोजी, जोखिममा रहेकाहरूको तत्काल स्थानान्तरण तथा पुनःस्थापनाको कामलाई तीव्रता दिन माग गरेको छ।

एमालेले विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधनस्रोत र उपलब्ध विकल्प परिचालन गरी तत्कालीन तथा दीर्घकालीन राहत प्याकेज तुरुन्त घोषणा गर्नसमेत सरकारसँग माग गरेको छ।

सरकारले कुनै पनि बहानामा ढिलासुस्ती नगरी उद्धार तथा राहत कार्यमा पूर्ण तदारुकता देखाउनुपर्ने एमालेको जोड छ।