काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले बिहानैदेखि राज्यका सबै संयन्त्र परिचालन गरी सरकारले देखाएको तत्परताप्रति सराहना गर्दै विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
बैठकले विशेष परिस्थितिका कारण रास्वपाका सम्पूर्ण औपचारिक तथा साङ्गठनिक कार्यक्रमहरू हालका लागि स्थगित गरेको छ भने खोज, उद्धार र राहतमा खटिँदा पार्टीको झण्डा वा लोगो प्रयोग नगरी विशुद्ध एक सचेत नागरिक र राष्ट्रिय झण्डाको भावना अनुरूप खटिन सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिइएको उनले बताएका छन् । त्यस्तै बैठकले रास्वपाको ’¥यापिड एक्सन टिम’ लाई सरकारी संयन्त्रसँग पूर्ण समन्वय गरी उद्धार कार्यमा खटाइएको उनले जानकारी दिएका छन् ।
साथै बैठकले खोज, उद्धार र राहत सम्पन्न नहुन्जेल २४सै घण्टा सरकार, स्थानीय प्रशासन र पीडित नागरिकको साथमा रहने प्रतिबद्धता जनाएको छ भने प्रभावित क्षेत्रमा विदेशी नागरिकहरू समेत परेको हुन सक्ने भएकाले उनीहरूको खोजी तथा उद्धारमा पनि उत्तिकै गम्भीरताका साथ जुट्न आग्रह गरिएको रास्वपा प्रवक्ता खरेलले बताएका छन्।






























































