काठमाडौं- रसुवामा आएको भीषण बाढीका कारण ४ सय ३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीनमध्ये ३ सय ४१ जना विदेशी पर्यटक र ६२ जना नेपाली पर्यटक रहेको विवरण सार्वजनिक भएको छ।
सम्पर्कविहीन पर्यटकमध्ये २ सय ३ जना पुरुष र २ सय जना महिला रहेका छन्। बाढीपछि प्रभावित क्षेत्रमा सम्पर्क तथा यातायात सेवा अवरुद्ध हुँदा उनीहरूको अवस्था यकिन गर्न कठिनाइ भइरहेको छ।
देशअनुसार हेर्दा सबैभन्दा धेरै भारतीय पर्यटक १ सय ३३ जना सम्पर्कविहीन भएका छन्। त्यसपछि अमेरिकी ४७ जना, अस्ट्रेलियाली ३४ जना र बेलायती ३३ जना रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा उद्धार टोली परिचालन गरी सम्पर्कविहीन नागरिक तथा पर्यटकको खोजी भइरहेको छ। सम्बन्धित निकायले उनीहरूको अवस्था पहिचान गरी सुरक्षित उद्धारका लागि प्रयास जारी राखेको जनाएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। सडक तथा पुलमा क्षति हुँदा प्रभावित क्षेत्रमा आवतजावतसमेत कठिन बनेको छ। खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको अवस्थाबारे थप विवरण आउने अपेक्षा गरिएको छ।






























































