काठमाडौं – नेपाल–चीन सीमावर्ती तिब्बतमा गएको भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने जोखिम बढेपछि चिनियाँ पक्षले उद्धार तथा खोजी कार्य तत्कालका लागि रोकेको छ।
गत बुधबारको पहिरो र लेदोसहितको बाढीले जिरोङ (केरुङ) नाकासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। पहिरोका कारण नदी थुनिएर बनेको तालमा लगातारको वर्षासँगै पानीको सतह तीव्र रूपमा बढेपछि जुनसुकै बेला ताल फुट्न सक्ने जोखिम देखिएको हो।
जोखिम बढेपछि चिनियाँ अधिकारीहरूले उद्धारकर्मीलाई सुरक्षित स्थानमा सार्दै तत्कालका लागि अपरेसन स्थगित गरेका छन्। तल्लो तटीय क्षेत्रमा थप बाढी तथा विनाश हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मानिसहरूको आवतजावतमा समेत कडाइ गरिएको छ।
बीबीसीका अनुसार तिब्बततर्फ विपत्तिपछि ५५० भन्दा बढी मानिस सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। तीमध्ये २६० जना विदेशी पर्यटक तथा तीर्थयात्री रहेको बताइएको छ। कैलाश मानसरोवर दर्शनका लागि पुगेका तीर्थयात्रीहरूमध्ये पनि ठूलो संख्या सम्पर्कविहीन रहेको जनाइएको छ।
चिनियाँ अधिकारीहरूले अहिले तालमा बढिरहेको पानीको सतह र आसपासको अवस्थालाई निरन्तर निगरानी गरिरहेका छन्। भारी वर्षा अझै जारी रहेकाले आगामी दिनमा बाढीको जोखिम थप बढ्न सक्ने आकलन गरिएको छ।































































