काठमाडौँ – देशका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३४२ पुगेको छ।
बाढी अपडेटअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा मात्रै १९९ जनाको मृत्यु भएको छ भने गण्डकी प्रदेशका गोरखा, तनहुँ र नवलपरासी पूर्वमा १४३ जनाले ज्यान गुमाएका छन्। रसुवामा १२, नुवाकोटमा ३८, धादिङमा २५ र चितवनमा १२४ जनाको मृत्यु भएको छ। यस्तै, गोरखामा ३२, तनहुँमा २४ र नवलपरासी पूर्वमा ८७ जनाको मृत्यु भएको विवरण छ।
बाढी तथा विपद्मा परेका १ हजार ४१२ जनाको उद्धार गरिएको छ। रसुवाबाट ५७२ र नुवाकोटबाट ८४० जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ। धादिङ र चितवनमा समेत उद्धार तथा खोजी कार्य जारी छ।
बाढीमा परी घाइते भएका १३७ जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। नुवाकोटमा मात्रै ५८ जना घाइतेको उद्धार गरिएको छ।यसैबीच, बाढी प्रभावित क्षेत्रमा मानव अंगसमेत फेला पर्ने क्रम जारी छ। रसुवा, धादिङ र चितवनलगायतका क्षेत्रमा गरी हात, खुट्टा र पञ्जा गरी ७० वटा अंग फेला परेको विवरणमा उल्लेख छ।
रसुवाबाट उद्धार गरी काठमाडौँ ट्रमा सेन्टर ल्याइएका ४५ घाइतेमध्ये २२ जना डिस्चार्ज भएका छन्। हाल वीर अस्पतालमा १ जना र ट्रमा सेन्टरमा २२ जना गरी २३ जना उपचाररत छन्। बाढी तथा पहिरो प्रभावित जिल्लामा खोज, उद्धार, शव व्यवस्थापन र घाइतेको उपचारलाई निरन्तरता दिइएको छ।































































