काठमाडौं – भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मुक्तिनाथ विकास बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको हो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै बैंकले विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ।
मुक्तिनाथ विकास बैंकले बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना समेत प्रकट गरेको छ।
बैंकले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ। बैंकका अनुसार प्रदान गरिएको सहयोगले प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा केही हदसम्म योगदान पुग्ने विश्वास गरिएको छ।
बैंकले आगामी दिनमा समेत विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।































































