काठमाडौं – खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।


ADVERTISEMENT


नेपाल विद्युत् प्राधिकरणका अनुसार निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि बिहान ६ः४० बजेदेखि हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’ मा थिए।


ADVERTISEMENT

# # #


त्यस समयमा विद्युत् प्रणाली ढल्केबर–खुर्कोट–खिम्ती–भक्तपुर–स्युचाटार प्रसारण मार्गबाट सञ्चालन भइरहेको थियो। यही क्रममा बिहान ८ः५२ बजे खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको सर्किट–१ को तार चुडिएर लाइन ट्रिप भएको थियो। त्यसको केही समयपछि बिहान ९ः१८ बजे सोही प्रसारण लाइनको सर्किट–२ समेत ट्रिप भएपछि विद्युत् प्रसारण सम्पर्क विच्छेद हुन पुग्यो। त्यससँगै काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

विद्युत् सेवा छिटो पुनः सञ्चालन गर्न प्राधिकरणले वैकल्पिक प्रसारण मार्ग प्रयोग गरेको थियो। भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै विद्युत् आपूर्ति सञ्चालन गरिएको हो। वैकल्पिक व्यवस्थामार्फत बिहान ९ः४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ।

हाल प्राविधिक टोलीले अवरुद्ध प्रसारण प्रणालीको स्थलगत निरीक्षण तथा मर्मतसम्भार गरिरहेको छ। प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरी प्रणालीलाई पूर्ण रूपमा नियमित सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।