काठमाडौं – नेपालमा आएको भीषण बाढी तथा पहिरोपछि भारतले उद्धार तथा राहत सहयोगलाई थप तीव्रता दिएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका लागि ११ टन राहत सामग्रीसहित चौथो विमान पठाइएको जानकारी दिएका छन्।


ADVERTISEMENT


जयशंकरका अनुसार भारतीय वायुसेनाको सी–१३० विमानमा सुरुङ उद्धारका लागि विशेष प्राविधिक टोली र खोज तथा उद्धारका आवश्यक उपकरण पठाइएको छ। टोलीले बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारमा प्राविधिक सहयोग गर्नेछ।


ADVERTISEMENT

# # #


उक्त उडानमा डीएनए परीक्षणका लागि फरेन्सिक विशेषज्ञको टोली पनि आएको छ। साथै कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा हाइजिन किटलगायत राहत सामग्रीसमेत पठाइएको छ।

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार भारतबाट ११ सदस्यीय सुरुङ उद्धार प्राविधिक टोली र १८ जना फरेन्सिक विशेषज्ञ नेपाल आइसकेका छन्। उनीहरू नेपाली सुरक्षाकर्मी तथा अन्य अन्तर्राष्ट्रिय विशेषज्ञसँग समन्वय गरी उद्धार र शव पहिचानमा सहयोग गरिरहेका छन्।

भारतले यसअघि पठाएको सहयोगसमेत जोड्दा नेपालमा हवाईमार्फत ६८.५ टन राहत सामग्री पठाइसकेको जनाएको छ।

जयशंकरले विपद्को यस कठिन समयमा भारत नेपालसँगै रहेको र राहत तथा उद्धारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।