सिन्धुपाल्चो – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीमा स्थानीय नेवार समुदायको मौलिक सांस्कृतिक पर्व गुनिला पर्व सुरु भएको छ। धार्मिक आस्था, परम्परागत नाचगान र सामुदायिक सहभागिताले तौथलीको पुरानो सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ।


ADVERTISEMENT


जनैपूर्णिमाको दिनदेखि सुरु भएर भाद्र कृष्ण चतुर्थीसम्म करिब पाँच दिन मनाइने गुनिला पर्व तौथलीको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहँदै आएको छ। स्थानीयस्तरमा यसलाई गुनिला जात्रा, हिले जात्रा तथा रोपाइँ जात्राका रूपमा समेत चिनिन्छ।


ADVERTISEMENT

# # #


नेपाल संवत्को ‘गुलाँगा’ महिनासँग जोडिएको यो पर्वको नाम ‘गुँला’बाट अपभ्रंश भएर ‘गुनिला’ भएको स्थानीय मान्यता छ। पर्वका क्रममा धार्मिक विधि पूरा गर्नुका साथै परम्परागत नाच, बाजागाजा र विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गरिन्छ।

गुनिला पर्वको विशेष आकर्षण भनेकै स्थानीय मौलिक नाच र जात्रा हुन्। परम्परागत बाजागाजासहित हुने सांस्कृतिक प्रस्तुति हेर्न तौथली तथा आसपासका क्षेत्रबाट सर्वसाधारण पुग्ने गरेका छन्। पर्वका कारण ऐतिहासिक तौथली बजारसमेत केही दिन उत्सवमय बन्ने गरेको छ।

पर्वमा ज्येष्ठ पुस्तादेखि युवा पुस्तासम्मको सहभागिता रहने भएकाले पुराना परम्परा नयाँ पुस्तामा हस्तान्तरण हुने अवसरसमेत मिलेको छ। रोजगारी तथा अध्ययनका लागि बाहिर रहेका तौथलीवासीसमेत पर्वको अवसरमा गाउँ फर्किने भएकाले पारिवारिक तथा सामुदायिक भेटघाटको वातावरण बन्ने गरेको छ। तौथलीमा गुनिला पर्वसँगै वर्षभरि विभिन्न धार्मिक तथा सांस्कृतिक जात्रा मनाउने परम्परा छ। यहाँको सांस्कृतिक पहिचानसँग जोडिएको दही जात्रा पनि चर्चित छ।

आधुनिक जीवनशैलीका कारण मौलिक संस्कृति र परम्परा हराउँदै गइरहेका बेला गुनिला पर्वको संरक्षण र पुस्तान्तरणलाई स्थानीयवासीले महत्वपूर्ण मानेका छन्। परम्परागत नाच, बाजागाजा र जात्राको निरन्तरतासँगै पर्वलाई व्यवस्थित रूपमा प्रचार–प्रसार गर्न सके तौथलीको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने देखिन्छ।