काठमाडौं – भोटेकोशी बाढीको मुख्य प्रभावित क्षेत्र रसुवामा हालसम्म ७७ वटा शव फेला परेका छन्।
मंगलबार बिहानसम्म टिमुरेबाट मात्रै ६० वटा शव निकालिएको रसुवाका डीएसपी अशोक थापाले जानकारी दिएका छन्। टिमुरेमा फेला परेका शवमध्ये एकजनाको मात्रै पहिचान खुलेको छ। यस्तै, बेत्रावती क्षेत्रमा भेटिएका १७ शवमध्ये पाँचजनाको सनाखत भएको प्रहरीले जनाएको छ।
रसुवामा यसअघि भेटिएका शवमध्ये जनक आचार्य, गंगादेवी श्रेष्ठ र पुडुली तामाङको पहिचान भएको थियो। यसैबीच, टिमुरेस्थित भन्सार कार्यालयका कर्मचारी नवकुल शर्माको शव भने गोरखामा फेला परेको छ। त्रिशूली नदीको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।































































