काठमाडौं- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग भेट गरेका छन्।
हालै आएको आकस्मिक बाढीले विद्यालय बगाउनुअघि समयमै आवश्यक कदम चालेर १ हजार ६ सयभन्दा बढी विद्यार्थीको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत श्रीवास्तवले प्रधानाध्यापक दवाडीको प्रशंसा गरेका हुन्।
भारतीय दूतावासका अनुसार, उक्त विद्यालयको नयाँ भवन भारत सरकारको अनुदान सहयोगमा सन् २०२२ मा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण गरिएको थियो।
भेटका क्रममा बाढीका कारण विद्यालयमा पुगेको क्षति तथा विद्यार्थीहरूको सुरक्षालगायत विषयमा समेत छलफल भएको जनाइएको छ।































































