काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एनएमबी बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्षले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। साथै, बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत प्रदान गरेको जनाएको छ ।
अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले जनधनको क्षति गर्नुका साथै धेरै परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार तथा जलविद्युत् आयोजनामा समेत असर परेको छ ।
बैंकले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।































































