काठमाडौं – रसुवाको भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जना १० दिनपछि जीवितै उद्धार भएका छन् ।


ADVERTISEMENT


बाढी आएको दिनदेखि सुरुङभित्र सम्पर्कविहीन रहेका ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जनलाई उद्धार टोलीले शुक्रबार जीवितै बाहिर निकालेको हो । साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा आयोजनामा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


दुवै जनाको उद्धारसँगै लामो समयदेखि सुरुङभित्र फसेकाहरू जीवितै भेटिन सक्ने आशा थप बलियो बनेको छ । गृहमन्त्री सुधन गुरुङले दुई जनाको जीवित उद्धारलाई ‘आशाको किरण’ को संज्ञा दिएका छन् ।

गृहमन्त्री गुरुङले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले सुरुङभित्र अझै पनि खोज तथा उद्धारको काम निरन्तर भइरहेको बताएका छन् ।

शुक्रबार बिहान उद्धारस्थलमै पुगेका गृहमन्त्री गुरुङले उद्धार अभियानको प्रत्यक्ष निरीक्षण गरेका थिए । उद्धार गरिएका साह र महर्जनलाई थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।